टी-२० विश्वकप: पाकिस्तानलाई 'गर या मर' को स्थिति, भारत र दक्षिण अफ्रिका दबाबमुक्त
आज तीन रोचक भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
740
Shares
काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार तीनवटा महत्त्वपूर्ण खेलहरू हुँदैछन्। आज समूह ‘डी’ को एउटा र समूह ‘ए’ का दुईवटा खेलहरू हुने तालिका छ। पहिलो खेलमा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन्।
यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा सुरु हुनेछ। दक्षिण अफ्रिकाले आफ्ना तीनवटै खेल जितेर सुपर आठमा स्थान सुरक्षित गरिसकेको छ भने यूएई आज दोस्रो जित निकाल्ने दाउमा छ।
दोस्रो खेलमा समूह ‘ए’ का दुई टोली पाकिस्तान र नामिबिया भिड्दैछन्। श्रीलंकाको कोलम्बुमा दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने यो खेल पाकिस्तानका लागि निकै निर्णायक छ। विश्वकपको सुपर आठमा प्रवेश गर्ने सम्भावना कायमै राख्न पाकिस्तानले यो खेल जसरी पनि जित्नै पर्ने दबाब छ।
बुधबारको अन्तिम खेलमा समूह ‘ए’ कै बलिया टोली भारत र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। भारतको अहमदाबादमा साँझ ७ बजेर १५ मिनेटमा सुरु हुने यो खेलमा भारत लगातार चौथो जितको खोजीमा हुनेछ।
भारतले यसअघिका तीनवटै खेल जितेर अघिल्लो चरणमा आफ्नो सिट पक्का गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा सीमित छ।