ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबुको प्रतिबद्धता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
699
Shares
दोलखा । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो ऐक्यबद्धता जनाएका हुन् ।
हाल ओराङमा सडकको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरिरहेको छ । मोटरबाटोको ट्र्याक ओराङ नजिकै आए पनि बीचमा रहेको दौलाङ भीर छिचोल्न नसक्दा गाउँ सडक सञ्जालबाट काटिएको छ । यसकै कारण विगुको वडा नम्बर १ बाट वडा नम्बर २ मा जानका लागि सिंगटी पुगेर घुमेर आउनुपर्ने बाध्यता रहेको छ।
"ओराङबासीको मुख्य माग नै यो सडक खण्डको निर्माण हो । धेरै जनप्रतिनिधिहरूसमक्ष यो माग पुगिसकेको रहेछ, अहिले हामीसँग पनि स्थानीयले यही आग्रह गर्नुभएको छ," घरदैलोका क्रममा शिवाकोटीले भने, "विगतमा आश्वासनमात्र पाएका ओराङबासीका लागि यो बाटो निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ। उहाँहरूको मागमा मेरो पूर्ण ऐक्यबद्धता छ।"
शिवाकोटीले यो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डाको प्राथमिकतामा राखेको बताउँदै निर्वाचित भएपछि ओराङलाई सडक सञ्जालमा जोडेर त्यहाँको आर्थिक र सामाजिक विकासमा लाग्ने विश्वास दिलाएका छन् ।