arrow

घरदैलोमै मतदाता शिक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
matadata-education.jpg

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले सही तरिकाले मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

यतिबेला जिल्लाका हरेक गाउँबस्तीमा चुनावी माहोल तातेको छ। निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक वडामा एक-एक जना मतदाता शिक्षक नियुक्ति गरी मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई जानकारी गराइरहेको छ ।

मतदाता शिक्षकहरूले स्थानीयको घरदैलोमै पुगेर मतदान गर्ने प्रक्रिया, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिइरहेका छन् ।

मतदाता शिक्षकहरूले मतदानसम्बन्धी सम्पूर्ण जानकारी दिएपछि आफू ढुक्क भएर मतदान गर्न सक्ने भएको बडीमालिका नगरपालिका-७ का स्थानीय मनसुर पाध्यायले बताए।

उनका अनुसार पहिले यस्तो कार्यक्रम नहुँदा कहिलेकाहीँ समस्या हुने गथ्र्यो, अहिले घरमै सिक्न पाउँदा सहज भएको छ ।

जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सहज र प्रभावकारी रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए।

उनका अनुसार यस कार्यक्रमले बदर मत घटाउने र निर्वाचन प्रक्रिया अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

आगामी निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेको छ। बाजुरामा एक स्वतन्त्रसहित सात दलका उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका ७७ मतदानस्थलमा एक सय १८ मतदान केन्द्र रहनेछन् ।

तीमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र अन्य सामान्य श्रेणीमा राखिएका छन्।

जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन्। तीमध्ये महिला ४२ हजार ४३१, पुरुष ४२ हजार ४२८ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ