arrow

अनुगमन र निगरानी बढाएपछि अघि बढ्यो बहुवर्षीय योजनाका काम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
bagmati-cm-office-81-6-19.jpg

बागमती। बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।

निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो ।

कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको जानकारी दिए ।

गत २०८१ असार मसान्तसम्म समयावधि भए पनि अस्पतालले जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा केही बढी समय लागेको उनले बताए ।

उक्त कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन निर्माणको काम आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भइसकेको छ

यस्तै, प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

हाल उक्त भवनमा जेन-जी आन्दोलनपश्चात् बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा छ ।

चितवनको भरतपुर महानगरपालिका-२२ स्थित कमलपोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम पनि सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए ।

उनका अनुसार हेटौँडाको रातमाटे पावरहाउस चौक कमाने-भोर्ले सडकमा ढलानको काम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक आर्थिक वर्षमा ठेक्का लागेको हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा फुटपाथ निर्माण, हेटौँडा उपमहानगरपालिका-१० मा स्ट्रिट फुड पार्क, चितवनस्थित कृषि विकास कार्यालयको भवन, चितवनको खैरेनीस्थित सबडिभिजन वन कार्यालय भवन र चितवनस्थित गोले पार्कको काम तीव्र रूपमा भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

चितवनको राप्ती-१२ मा निर्माणाधीन नौलापुर एकीकृत बस्ती पूर्वाधार निर्माण, चितवनको भरतपुर-२ स्थित मितेरी टोलदेखि नमस्ते पार्कसम्म ढलानको काम ५५ प्रतिशत सम्पन्न भएको र बाँकी काम तीव्र रुपमा भइरहेको उनले जानकारी दिए ।

यसैगरी मकवानपुरको थाहा नगरपालिका-९ स्थित ऐतिहासिक धनदेव गोले पार्क भौतिक पूर्वाधार निर्माण, चितवनको बङ्कुलर रत्ननगर अस्पताल मातृशिशु भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

चितवनको माडी-८ मा निर्माणाधीन मध्यवर्ती ‘होमस्टे’ सांस्कृतिक सामुदायिक भवन निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको र चालु आवमा बजेट नहुँदा काम रोकिएको प्रमुख यादवको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ