arrow

तीन प्रदेशमा मतपत्र ढुवानी सम्पन्न, बाँकी क्षेत्रमा दुई दिनभित्र पुर्‍याउने आयोगको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
sita-pun.jpg

काठमाडौँ । निर्वाचन आयोगले जारी निर्वाचन प्रक्रियाअन्तर्गत मतपत्र ढुवानीको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक मतपत्र ढुवानीको कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बाँकी रहेका चारवटा प्रदेशमा पनि आगामी दुई दिनभित्र मतपत्र पुर्‍याइसक्ने गरी काम भइरहेको जानकारी दिइन्। आयोगले तोकिएको समयतालिकाभित्रै निर्वाचन सामग्री र मतपत्र सबै जिल्लाहरूमा पुर्‍याउन ढुवानी प्रक्रियालाई तीव्रता दिएको छ।

आयोगका अनुसार यस निर्वाचनका लागि प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ र प्याकिङ गरिएको छ। त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिएका छन्।

सहायक प्रवक्ता श्रीसले भनिन्, "सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रहरू सम्बन्धित स्थानमा पुगिसकेका छन्। अब बाँकी प्रदेशहरूमा पठाउने काम भइरहेको छ। भोलि र पर्सिसम्ममा निर्वाचन आयोगले तयार पारेको कार्यतालिकाभित्रै सबै निर्वाचन सामग्री र मतपत्र ढुवानी गरिसक्ने गरी हामीले काम गरिरहेका छौँ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ