निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
776
Shares
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मतदाताले कुनै पनि डर वा धाकधम्की बिना स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए।
अध्यक्ष मगरले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरू चनाखो हुनुपर्ने बताए। "मतदाताले सक्षम र योग्य व्यक्तिलाई चयन गर्न पाउनुपर्छ, तर गलत सूचनाले उनीहरूलाई प्रभावित पार्ने काम हुनुहुँदैन," उनले भने।
निर्वाचन आचारसंहिता उल्लंघनका घटना र कारबाहीबारे उठ्ने गरेका प्रश्नप्रति लक्षित गर्दै अध्यक्ष मगरले उम्मेदवारहरू आफैँ बढी जिम्मेवार हुनुपर्ने धारणा राखे। "सरकारमा जाने, भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारहरूले निर्वाचन आचारसंहिता (कोड अफ कन्डक्ट) पालना नगर्ने हो भने उनीहरूको प्रतिबद्धताको अर्थ रहँदैन," उनले स्पष्ट पारे।
सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.ले निर्वाचन सुरक्षाको कमान्डबारे जानकारी दिए। उनले मतदान स्थलको सुरक्षामा नेपाल प्रहरी अग्रपङ्क्तिमा रहने बताए। "मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी रहन्छ, दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना लगायत अन्य सुरक्षा निकायको सहभागिता हुन्छ," एआईजी बि.क.ले भने।
उनले निर्वाचनमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च रहेको र जनताको सहभागिताको इच्छाबारे प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको समेत जानकारी दिए। प्रहरी प्रधान कार्यालयले सातै वटा प्रदेशमा एआईजीहरूलाई खटाएर स्थलगत अवस्था र सुरक्षाकर्मीको मनोविज्ञान बुझ्ने काम गरिरहेको र हालसम्मको रिपोर्ट अनुसार सुरक्षा प्रबन्ध मजबुत रहेको उनले दाबी गरे।