दाङ २ मा शंकर दबाबमा, कांग्रेस–रास्वपा–नेकपा आफ्नै कसरतमा
नारायण वली,
प्रकाशित २०८२ फागुन १४ बिहिबार
1k
Shares
लुम्बिनी । निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढ्दै गएका बेला दाङ क्षेत्र न-२ लाई विशेषरुपमा हेरिएको छ ।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार बनेकाले देशकै नजरमा परेको छ । यसअघि ०७९ सालको चुनावमा तत्कालीन माओवादीकी नेता रेखा शर्मासँग १९३ झिनो मतान्तरले हारे बेहोरेका पोख्रेल यसपालि संघीय निर्वाचनको प्रतिष्पर्धालाई छिचोल्दै जित्नुपर्ने दबाबमा छन् ।
कांग्रेसले किरणकिशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक गठबन्धनका कारण कांग्रेसको उम्मेदवार थिएन । ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोरा, पञ्चायत विरुद्धको आन्दोलनमा लागेका दाजु कृष्णकिशोर घिमिरेका भाई किरणकिशोर स्वच्छ छबि भएका व्यक्ति हुन् ।
अघिल्लोपटक गठबन्धन हुँदा माओवादी मन नपराउनेहरुले रास्वपालाई मत दिए । यो पटक कांग्रेसले तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छ । मत हाल्न कांग्रेसका नेता कार्यकर्ता र समर्थक आतुर छन् ।
हामी तीनवटै क्षेत्रमा जित्छौँ, कांग्रेसका दाङ जिल्ला सभापति शंकर डाँगी बताउँछन् । एमालेलाई भने यसपालि रास्वपा तगारो बन्ने स्थलगत रिर्पोटिङको क्रममा स्थानीय नागरिक, विभिन्न सरोकारवाला, जानकार र नेता कार्यकर्ताहरुसँग संकलन गरिएको प्रतिक्रियाले देखाउँछ ।
रास्वपाले विपिनकुमार आचार्यलाई उम्मेदवार बनाएको छ। उनी रास्वपाको सहमहामन्त्री हुन्। उनले अघिल्लोपटकको मतलाई सुरक्षित गर्दै जितका लागि धेरै मेहनत गर्नुपर्नेछ । यो क्षेत्रमा रास्वपाले अघिल्लो चुनावमा १५ हजार ८ सय ६१ मत पाएको थियो ।
नेकपाले निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक गठबन्धन हुँदा जितेको माओवादीले यो पटक पनि प्रतिष्पर्धामा रहेको तत्कालीन माओवादीका जिल्ला संयोजक राम दहित बताउँछन् ।
उनी भन्छन्, 'क्षेत्र न-२ मा अघिल्लोपटक जितेका हौँ । योपटक पनि कडा प्रतिष्पर्धामा छौँ । हाम्रो सबैभन्दा राम्रो क्षेत्र न-३ मा छ । १ मा बागी हुँदा अलिक गाह्रो छ । तर हामी जित्ने गरी चुनावी मैदानमा उत्रेका छौँ ।' प्रलोपा र आम जनता पार्टीका प्रत्यक्षका उम्मेदवार नै नेकपामा प्रवेश गरेकाले नेकपालाई फाइदा पुग्ने देखिन्छ ।
यस्तो छ उम्मेदवारहरुको पृष्ठभूमि शंकर पोख्रेल
२०१९ सालमा तुलसीपुर उपमहानगर वडा न-१९ मा जन्मिएका विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनी अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन् । २०५१ सालमा भएको आम निर्वाचनमा दाङ क्षेत्र न-२ बाट निर्वाचित भई पहिलो पटक प्रतिनिधि सभा सदस्य बनेका उनी २०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ जिल्लाको क्षेत्र न-४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भएका थिए ।
तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल हुँदा पोख्रेल २०६६ जेठ ११-२०६७ माघ २३ गतेसम्म सूचना तथा सञ्चारमन्त्री भएका थिए भने २०७४ फागुन ३-२०७८ साउन २७ गतेसम्म लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । माओवादी जनयुद्धको हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व समेत गरेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोख्रेल पार्टीभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । हाल पोख्रेल नेकपा एमालेका महासचिव हुन् ।
किरणकिशोर घिमिरे
२०१९ सालमा जन्मिएका ६३ वर्षीय किरणकिशोर घिमिरे २०३६ सालदेखि पञ्चायती शासनको विरोधमा लागेका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलन पश्चात् मजदूरको हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय भएका घिमिरे पुख्र्याैली कांग्रेसीपनमा भिजेका नेता हुन् ।
घिमिरे जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धकसमेत भएर १८ वर्ष लामो अनुभव संगालेका क्षमतावान मानिन्छन् । जागिरे कार्यालयमा कुशल व्यवस्थापकीय क्षमता देखाएका उनको अहिलेसम्म कुनै दाग नलागेका कांग्रेस नेता हुन् ।
दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत् स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् । अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र पढेका उनले भारतको अवध विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
निर्मल आचार्य
२०३३ असार १५ गते जन्मिएका निर्मल आचार्य घोराही उपमहानगरपालिका वडा न १७ चौघेराका स्थायीबासी हुन् । प्राथमिक तह देउखुरीस्थित बनगाउँमा पढेका उनले २०५० सालमा एसएलसी उत्तीर्ण गरे । २०५१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा आईएमा भर्ना भए । २०५४ सालमा स्नातक अध्ययनका लागि भर्ना गए । क्याम्पसबाटै २०५५ सालमा नेपाली सेनाको गिरफ्तारीमा परे । आचार्यले जेलबाट राजनीतिक शास्त्र र अङ्ग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरे । हिरासत मुक्त भएपछि भूमिगत राजनीतिमा सक्रिय हुँदै महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकोत्तर गरेका छन् ।
विद्यार्थी राजनीतिक आन्दोलनका क्रममा पटक-पटक गरी सात पटक प्रहरीको गिरफ्तारीमा परेका आचार्य २०५५ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । सोही वर्ष माघ २९ गते पुनः प्रहरीको गिरफ्तारीमा परे । २०५५ फागुन १९ गतेदेखि २०५६ वैशाख ७ गतेसम्म बेपत्ताको सूचीमा परे । उनलाई २०५६ वैशाख ८ देखि २०५८ भदौ ६ गतेसम्म हिरासतमा राखियो । मुक्त भएपछि फेरी २०५८ मंसिर ११ गते तत्कालीन माओवादीको भूमिगत राजनीतिमा लागे ।
विपिनकुमार आचार्य
२०४६ सालमा तुलसीपुरको टरिगाउँमा जन्मिएका आचार्य बायोटेक इन्जिनियर हुन् । २०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले २०६६ सालमा भारतबाट बायोटेक इन्जिनियरिङको अध्ययन पूरा गरे । २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । केही समय ग्यालेक्सी फोरके टिभीमा क्रिएटिभ डाइरेक्टरका रुपमा समेत काम गरेका थिए ।
२०७९ को चुनावमा बाचापत्र तयार पार्ने, विधानको ‘प्राइमरी फ्रेमवर्क’ बनाउने, मोबाइल एप निर्माणमा सक्रिय भूमिका खेलेका उनी रास्वपाका संस्थापक सहमहामन्त्रीको जिम्मेवारीमा रहँदै आएका छन् । एक लाख ४० हजार नौ सय ६५ कुल मतदाता रहेको क्षेत्र न-२ मा ६८ हजार ५ सय ५८ जना पुरुष, ७२ हजार ४ सय ६ जना महिला अन्य १ रहेका छन् । ४९ मतदानस्थल, एक सय ५५ मतदान केन्द्र तोकिएको क्षेत्रमा २३ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।