संसदबाट हिमाली जलवायु संकट विश्वलाई सुनाउने मनोज गुरुङको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
2.9k
Shares
पोखरा। दुई वर्षअघि २०८० को कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गरे । जलवायु परिवर्तनका कारण परेको असरबारे प्रत्यक्ष बुझ्न उनी एबीसी आएपछि विश्वको ध्यान खिच्ने अपेक्षा थियो । अपेक्षाकृत सन्देश प्रवाह हुन सकेन ।
त्यही ठाउँबाट उम्मेद्वार बनेका छन्, मनोज गुरुङ । हिमाली क्षेत्रले जलवायु परिवर्तनबाट भोगेका समस्याबारे उनी प्रत्यक्ष अनुभवी हुन् । त्यसैले आफ्ना क्षेत्रका नागरिकले भोग्नुपरेको जलवायु संकटबारे उनी सचेत छन् ।
गुरुङले संसदबाटै जलवायु परिवर्तनबाट हिमाली क्षेत्रले व्यहोर्नुपरेको संकटबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् ।
‘हाम्रा हिमाल कालापत्थर भैसके । बाल्यकालमा देखेको टल्कने हिउँ अहिले छैन,’ उनी भन्छन्, ‘यो मैले मात्रै होइन, मेरा क्षेत्रका सबै नागरिकले भोगेका छन् । तर, आजसम्म हाम्रो समस्या संसदबाट सुनाइदिने कोही भएनन् ।’
आफू निर्वाचित भएपछि विकाससँगै संरक्षणमा ध्यान दिने प्रतिबद्धता जनाए । ‘विकास अव्यवस्थित छ । सांसदलाई मन लागेको ठाउँमा योजना गएका छन्। आवश्यक्ता र मागका आधारमा विकास गर्नुपर्छ,’ उनले भने, ‘विकास गर्दा पर्यावरणलाई विगार्न भएन । संरक्षणसँगै विकासको अवधारणा कार्यान्वयन गनुर्छ । मैले गर्ने त्यही हो ।’
अन्नपूर्ण र माछापुच्छ्रेलगायत क्षेत्रका आसपासमा जलवायु परिवर्तनका कारण केही बसाइ सर्नुपर्ने अवस्थामा छन् ।
खानेपानीको अभाव बढ्दो छ । नयाँ रोगहरू हिमालकै छेउसम्म पुगेको छ । ‘किरा फट्यांग्राहरू हामीले कहिलै नदेखेका पनि अहिले देखिन थाले । लामखुट्टे हिमालकै फेदसम्म पुगेका छन्,’ मनोज भन्छन्, ‘यसको कारण जलवायु परिवर्तन नै त हो । गर्मी यतिसारो बढिसक्यो । यो गुनासो गरेर बस्ने मात्रै होइन, संसारलाई सुनाउने हो ।’
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु कोषमार्फत नेपालले प्राप्त गर्ने रकम आफ्नो क्षेत्रसम्म ल्याउने उनको प्रतिबद्धता छ ।
हालसम्म यो कोषबाट नेपालले ४० करोड ७१ लाख अमेरिकी डलर (झन्डै ५८ अर्ब रुपैयाँ) सहयोग प्राप्त गरेको छ । विभिन्न जलवायु कोषमार्फत हालसम्म नेपालले प्राप्त गरेको उक्त रकमबाट ४९ परियोजना सञ्चालनमा छन् ।
तर, कास्की-३ मा देखिने गरी कुनै योजना यो कोषबाट संचालन भएको छैन । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले द्विपक्षीय सहायता, बहुपक्षीय विकास बैंकले स्थापना गरेको हरित जलवायु कोष र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय रूपरेखामार्फत आर्थिक सहयोग प्राप्त गर्दै आएको छ ।
गुरुङले अन्नपूर्ण वा माछापुच्छ्रेको छेउमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण सम्मेलन गर्ने बताएका छन् । ‘जलवायुका क्षेत्रमा काम गर्ने विज्ञहरुलाई हाम्रो क्षेत्रको अनुभव गराउनुछ । उनीहरुले अन्तर्राष्ट्रिय फोरमहरुमा हाम्रा समस्याबारे खुलेर राख्न सकुन् भन्ने हाम्रो मान्यता हो,’ गुरुङले अघि भने, ‘पहिला हामी हाम्रै ठाउँमा उहाँहरूलाई निम्त्याएर एउटा कार्यक्रम गर्छौं । त्यसपछि निरन्तर संसदबाट यसबारे आफ्ना विचार राख्नेछु । अन्तर्राष्ट्रिय फोरमले अब हाम्रा समस्या सुन्नुपर्छ र महसुस गर्नुपर्छ ।’
उनले जलवायु संकटको क्षतिपूर्ति बापत आउने अन्तर्राष्ट्रिय कोषलाई तल्लो तटीय क्षेत्रका किसानसम्म पुर्याउने प्रतिबद्धता जनाए । स्थानीयको सहमति र पर्यावरणलाई असर नपर्ने गरी नयाँ पिकहरूमा आरोहण खुल्ला गरी रोयल्टी गाउँमा भित्र्याउने योजना पनि अघि सारेका छन् ।
कास्की क्षेत्र नं ३ संरक्षण क्षेत्रभित्र पर्ने भूगोल हो । अधिकांश भुभाग अन्नपूर्ण संरक्षण क्षेत्रले ओगटेको छ । गुरुङले एक्यापको सञ्चालन नियमावली समयसापेक्ष बनाउन पैरवी गर्ने बताएका छन् ।
संरक्षण क्षेत्रभित्रका व्यवसायलाई वैधानिक बनाउन र करको दायरामा ल्याउन सक्दो प्रयास गर्ने उनको संकल्प छ । गुरुङले कृषिलाई पनि जलवायु अनुकल हुने गरी व्यवस्थित गर्ने र त्यसका लागि नलेज (विज्ञ) सभा आफ्नै क्षेत्रमा गर्ने बताए । उनी फागुन २१ गते हुने निर्वाचन लक्षित घरदैलोमा छन् ।
गुरुङलाई भुगोलले चिनेको नेता भन्दै सबैले स्वागत गर्दै शुभकामना दिइरहेका छन् । घरदैलोका क्रममा नीतिगत सुधारसँगै स्थानीय विकासका बारेमा पनि गुरुङले प्रतिबद्धता जनाइरहेका छन् ।