प्रतिनिधि सभा निर्वाचन: ४३ संस्थाले पर्यवेक्षण गर्ने, १५ विदेशी पाहुना नेपाल आउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
999
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन्। निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी कुल ४३ संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिएको हो।
आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई आवश्यक प्रशिक्षण समेत दिइसकेको छ। आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक एवं आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूले मात्र पर्यवेक्षणको जिम्मेवारी पाएको जानकारी दिए।
निर्वाचनको गरिमा र निष्पक्षता बुझ्न आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तहरूसहित १५ जना उच्चस्तरीय विदेशी पाहुनाहरू नेपाल आउने भएका छन्। यसका साथै विभिन्न कूटनीतिक नियोग र दूतावासका प्रतिनिधिहरूले पनि मतदानको दिन स्थलगत अवलोकन गर्नेछन्।
विदेशी पाहुना, कूटनीतिक नियोगका प्रतिनिधि तथा दूतावासका अधिकारीहरूलाई मतदानको दिन अनुगमनमा सहजता प्रदान गर्न सरकारले विशेष व्यवस्था गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरू (Liaison Officers) परिचालन गरिएको आयुक्त जबराले बताए। ती अधिकृतहरूले विदेशी पर्यवेक्षकहरूलाई मतदान केन्द्रको भ्रमण र सुरक्षा समन्वयमा सहयोग गर्नेछन्। – न्युज एजेन्सी नेपाल