arrow

निर्वाचन खर्चमा बेवास्ता

आधाभन्दा बढी उम्मेदवार र ५४ दलले अझै खोलेनन् बैंक खाता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका प्रत्यक्षतर्फका तीन हजार ४०६ उम्मेदवारमध्ये हालसम्म एक हजार ६७० जनाले मात्र बैंक खाता खोलेको जानकारी दिएको छ। आयोगका अनुसार निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये पनि हालसम्म ११ वटा दलले मात्र औपचारिक रूपमा बैंक खाता सञ्चालनमा ल्याएका छन्। 

खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले बताएका छन्।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्राप्त गर्ने आर्थिक सहायतामा पारदर्शिता ल्याउनुका साथै निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालना गराउन र प्रभावकारी निगरानी गर्न यस्तो व्यवस्था गरिएको हो। 'प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२' बमोजिम निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले समेत अनिवार्य रूपमा खाता खोल्नुपर्ने व्यवस्था छ। 

निर्वाचन प्रचारप्रसारका लागि लिइने सबै प्रकारका आर्थिक सहयोग र गरिने आम्दानी-खर्चको कारोबार सोही बैंक खातामार्फत मात्र गर्नुपर्ने आयोगको निर्देशन छ।

आयोगले निर्वाचन खर्चलाई बैंकिङ प्रणालीमा ल्याएर अपारदर्शी आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको भए पनि आधाभन्दा बढी उम्मेदवार र अधिकांश दलले अझै खाता नखोल्दा निगरानीमा चुनौती देखिएको छ। निर्वाचन प्रयोजनका लागि खोलिने यस्ता खाताको विवरण र कारोबारका आधारमा पछि आयोगले उम्मेदवारहरूको चुनावी खर्चको लेखापरीक्षण समेत गर्ने प्रावधान रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ