मतदानका दिन सवारी साधन सञ्चालन: कुन गाडी चल्न पाउँछन्, कुनलाई चाहिन्छ पास ?
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
908
Shares
काठमाडौँ । निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन तथा नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार फागुन २१ गते हुने मतदानका दिन अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ। विशिष्ट परिस्थिति र सेवाका लागि भने आयोगले सवारी पासको व्यवस्था गरेको छ, जसको वितरण प्रक्रिया शुक्रवारदेखि नै सुरु भइसकेको छ।
आयोगले सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ। पहिलो श्रेणीमा अनिवार्य रूपमा सवारी पास लिनुपर्ने साधनहरू छन्, जसमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन्। कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र निजका प्रतिनिधिले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्ने प्रावधान छ।
यसैगरी, निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, कूटनीतिक नियोगका सवारी साधन र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्नेछ। संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने प्रवक्ता जिसीले जानकारी दिए।
केही सेवाहरूलाई भने मानवीय र प्राविधिक संवेदनशीलताका कारण सवारी पासको अनिवार्यताबाट मुक्त राखिएको छ। एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका सवारी साधनहरू कुनै अवरोध बिना निर्वाध रूपमा चल्न पाउनेछन्। यस्ता साधनहरूलाई सहजीकरण गर्न सुरक्षाकर्मीहरूलाई समेत निर्देशन दिइएको छ।
यसका अतिरिक्त खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी साधन, विद्युत् सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित साधनहरूलाई पनि पासको आवश्यकता पर्नेछैन। डाटा सेन्टरहरू सञ्चालन गर्ने र अन्य प्राविधिक सेवामा खटिएका सवारी साधनहरूलाई पनि निर्वाध रूपमा चल्न दिइनेछ। यस्ता सेवाहरू समाजको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले निर्वाचनको समयमा पनि यिनलाई रोक्न नहुने आयोगको ठहर छ।
निर्वाचन आयोगले यस पटक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूलाई विशेष प्राथमिकतामा राखेको छ। मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने यस्ता मतदाताहरूका लागि सहजीकरणको विशेष व्यवस्था गरिएको छ। मतदानका दिन यस्ता व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुर्याउन र फर्काउन सुरक्षाकर्मी तथा स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुविधा उपलब्ध गराइनेछ।
आयोगले मतदान केन्द्रहरूलाई समेत अपाङ्गतामैत्री बनाउने प्रयास गरेको छ। अशक्त मतदाताहरूले सुरक्षाकर्मीसँगको समन्वयमा सवारी साधनको प्रयोग गरी मतदान केन्द्रको नजिकसम्म पुग्न सक्नेछन्, जसले गर्दा कोही पनि नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने विश्वास आयोगले लिएको छ।
सवारी आवागमन सम्बन्धी यो व्यवस्था निर्वाचन आयोगको कार्यविधिको परिच्छेद ३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कार्यविधिको दफा ४, ५ र ६ मा मतदानको दिनको सवारी आवागमन सम्बन्धी कडा प्रावधानहरू राखिएका छन्, जसअनुसार मतदानको दिन सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द रहनेछन्।
यो कार्यविधि विगतका अनुभव र सरोकारवालाहरूसँगको व्यापक छलफलपछि तयार पारिएको सहायक प्रवक्ता जिसीले बताए। उनले व्यवहारमा आइपर्ने सानातिना समस्याहरूलाई सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा समाधान गरिने स्पष्ट पारे। यदि मतदानको दिन कसैलाई अचानक अस्पताल जानुपर्ने वा अन्य कुनै गम्भीर आपतकालीन अवस्था आइपरेमा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सुविधा लिन सकिने आयोगले जनाएको छ। फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभरका सार्वजनिक सवारी साधनहरू बन्द रहने भएकाले आयोगले सर्वसाधारणलाई सोहीअनुसार आफ्नो योजना बनाउन आग्रह गरेको छ।