मोरङ ४ मा महामन्त्री घिमिरे बलियो, मोदी ढुक्क, एमाले विश्वस्त, नयाँ भोट काट्दै
विवेक मिश्र,
प्रकाशित २०८२ फागुन १६ शनिबार
1k
Shares
मोरङ । प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ रोचक देखिएको छ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र दुई पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका नेकपाका उम्मेदवार अमनलाल मोदीसहित नयाँ अनुहार निर्वाचनमा होमिएका कारण यस क्षेत्र चासोका साथ हेरिएको छ ।
विगतमा दुई ओटा निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेर जितेको नेकपा माओवादी केन्द्र यस पटक नेपाली कम्युनिष्ट पार्टीको नामबाट एकल रुपमा प्रतिस्पर्धामा होमिएको छ । हालै कांग्रेसका महामन्त्री बनेका गुरुराज घिमिरे पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मतसहित विजयी भएका थिए । समानुपातिकतर्फ भने सबैभन्दा बढी १९ हजार ५ सय ५५ मत नेपाली कांग्रेसले पाएको थियो । एमालेले १८ हजार तीन सय ८६ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ७ सय ६० मत ल्याएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २ सय ७० मत ल्याएको थियो । यस पटक केही नयाँ दलसहित नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् । यो क्षेत्रमा एक लाख १९ हजार २ सय ५५ मतदाता छन् भने यस पटक नौ हजार ७८ जना मतदाता थपिएका छन् ।
२०७९ र २०७४ सालको निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताउँछन् ।
विगतको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मत भएकाले यस पटक जित सहज हुने विराटनगरका मतदाता लिलाप्रसाद काफ्ले बताउँछन् । एमालेबाट पूर्वप्रदेश मन्त्री जीवन घिमिरे चुनावी मैदानमा छन् । पार्टी संगठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने विश्वास घिमिरेको छ ।
पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परीवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीकोका उम्मेदवार सन्तोष राजवंशी बताउँछन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ ४ मा उम्मेदवारहरू चुनावी प्रचारप्रसारका क्रममा मतदातासँगै छन् ।