- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेसहितको ९ दलीय विपक्षी गठबन्धनले दलीय सहमति नभई संसद बैठकमा संविधान संशोधन विधेयक ल्याए अवरोध गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संयुक्त बैठकले दलीय सहमतिबिना संविधान संशोधन सम्बन्धि प्रस्ताव पेश भए अवरोध गर्ने निर्णय गरेको बैठकमा सहभागि एमाले सचेतक गोकुलप्रसाद घर्तीले हाम्राकुरालाई बताए ।
उनले भने, ‘दलीय छलफल नै नभई संशोधन विधेयक बैठकमा पेश हुन नदिने निर्णय भएको छ । यदि आगामी बैठक बस्नुअघि दलीय सहमति भए विधेयकबारे छलफल गर्न सकिने बाटो खाली नै राखिएको छ ।’ बैठकमा संशोधन विधेयक सदनमा वेश भए के गर्ने भन्ने विषयमा मात्रै छलफल भएको उनले बताएका छन् ।
सचेतक घर्तीका अनुसार एमाले संविधान संशोधन विधेयक अघि बढ्न दिन तयार छ । तर, असन्तुष्टहरुको प्रष्ट धारणा नआई अघि बढ्न दिइँदैन । उनले भने, ‘असन्तुष्टहरुले विधेयक पास भए पनि फेल भएपनि हामी अघि बढ्न तयार छौँ भन्न सक्नु पर्छ । सरकारले पनि उनीहरुले यथास्थितिमा संशोधन विधेयक अघि बढाउन नहुने भनिरहेका बेला जबर्जस्ती अघि बढाउनु भएन ।’
असन्तुष्टहरुले छोड्न सक्ने र हामीले छोड्न सक्ने विषयमा कमसेकम सहमति हुन त पर्छ नि हैन ! घर्तीले प्रतिप्रश्न गरे । गठबन्धनको बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले गठबन्धनले गरेको निर्णय अनुसार अघि बढ्ने निर्णय गरेको थियो ।