होलीमा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन
तस्बिर अङ्कित टिसर्ट र टोपी लगाउन नपाइने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
733
Shares
कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले आगामी होली पर्वका अवसरमा कुनै पनि प्रकारका अमर्यादित, उच्छृङ्खल र गैरकानुनी गतिविधि नगर्न सार्वजनिक आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला गर्ने, जुलुस निकाल्ने, भीडभाड गर्ने, मदिरा सेवन तथा बिक्री-वितरण गर्ने र कसैको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने वा फोहोर पानी छ्याप्ने जस्ता कार्य गर्नेहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए।
विशेषगरी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले निर्देशन दिएको छ। आचारसंहिताको परिच्छेद ४ को दफा १३(घ) अनुसार निर्वाचन प्रचारप्रसार वा कुनै पनि सार्वजनिक कार्यक्रममा उम्मेदवारको निर्वाचन चिह्न वा तस्बिर अङ्कित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला र गम्छा जस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको छ। सोही प्रावधानलाई आधार मानी होलीका अवसरमा पनि यस्ता राजनीतिक सामग्रीहरू प्रदर्शन वा प्रयोग गरेमा आचारसंहिता उल्लंघनको कसुरमा कारबाही हुने व्यहोरा सहायक प्रजिअ जोशीले स्पष्ट पारे।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको होली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै प्रशासनले अरूको व्यक्तिगत स्वतन्त्रतामा बाधा पुग्ने गरी लोला हान्ने वा सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य नगर्न सचेत गराएको छ। कानुनविपरीतका गतिविधि भएमा प्रशासनले कडा कदम चाल्ने निश्चित भएको बताउँदै सबै नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार ढङ्गले पर्व मनाउन अनुरोध गरिएको छ।