हिमपातले सडक ठप्प भएपछि हुम्लामा हेलिकप्टरको सहारामा निर्वाचन समाग्री ओसारिँदै
हिउँ पन्छाएर सडक खुलाउने प्रयास
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
634
Shares
काठमडौँ। हुम्लाका चारवटा विकट मतदान केन्द्रमा खटिने कर्मचारी र मतपत्रसहितका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ। हिमपातका कारण सडक र घोडेटो बाटो अवरुद्ध भएपछि निर्वाचन आयोगले हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नाम्खा गाउँपालिका–६ को लिमीस्थित भृकुटी आधारभूत विद्यालय (जाङ), सुनखानी आधारभूत विद्यालय (हल्जी), हिमशिखर आधारभूत विद्यालय (तील) र नाम्खा–४ को हिमालय आधारभूत विद्यालय (चाला) मतदान केन्द्रमा हेलिकप्टरमार्फत सामग्री पुर्याइनेछ।
यी चार मतदान केन्द्रका लागि २० जना कर्मचारी र सुरक्षाकर्मी (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) सहित कुल १०२ जनाको टोली परिचालन हुनेछ। बाटोमा बाक्लो हिउँ जमेका कारण पैदल जान असम्भव भएपछि आज र भोलि दुई दिनभित्र उनीहरूलाई हेलिकप्टरबाटै सम्बन्धित केन्द्रमा पुर्याउने लक्ष्य राखिएको प्रजिअ रेग्मीले बताए।
लिमी जाने नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प छ। त्यस्तै, चाला जाने घोडेटो बाटो पनि हिउँले पुरिएकाले आयोगले हेलिकप्टरको व्यवस्था गरेको हो। यी मतदान केन्द्रहरूलाई भौगोलिक विकटताका कारण जिल्ला सुरक्षा समितिले 'अतिसंवेदनशील' स्थलका रूपमा वर्गीकरण गरेको छ।
लिमीका तीनवटा केन्द्रमा गरी ६७२ र चालामा १५९ मतदाता रहेका छन्। हाल तीमध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई मतदानका लागि गाउँ फर्काउन सडक खुलाउने प्रयास समेत सुरु गरिएको छ।