काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार राति भएको सुपर आठको अन्तिम खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सुपर आठको पहिलो समूहबाट दक्षिण अफ्रिका समूह विजेता तथा भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै इङ्गल्याण्ड विजेता तथा न्यूजिल्याण्ड उपविजेता हुँदै दोस्रो समूहबाट सेमिफाइनलमा पुगेको छ ।
समूह १ बाट २ अंकबाट वेष्ट इन्डिज तथा अंकविहीन हुँदै जिम्बाब्वे बाहिरिएको छ ।
समूह २ बाट पाकिस्तान ३ अंकसहित तथा श्रीलंका अंकविहीन हुँदै बाहिरिएको छ ।
पहिलो सेमिफाइनलमा बुधबार अर्थात् २० फागुनमा दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्ने छन् । खेल भारतको इडन गार्डनमा हुनेछ ।
दोस्रो सेमिफाइनलमा बिहीबार २१ गते भारत र इङ्गल्याण्ड बेलुकी वाङ्खेडेको मैदानमा खेल्नेछन् ।
यस्तो रह्यो भारत र वेष्ट इन्डिजको खेल
खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्जिडले ४ विकेटको क्षतिमा १९५ रन बनायो । रोष्टन चेजले २५ बलमा ४०, जासन होल्डरले २२ बलमा अविजित रहँदै ३७ तथा रोभमन पवेलले १९ बलमा अविजित रहँदै ३४ रन जोडे ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक २ विकेट लिए ।
जवाफमा भारतले १९.२ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर सन्जु सामसनले ५० बलमा अविजित रहँदै ९७ रन बनाए ।
उनले ४ छक्का र १२ चौका हाने । तिलक वर्माले १५ बलमा २७ रन जोडे ।