निर्वाचन लक्षित सुरक्षा: मदिरा बिक्रीमा पूर्ण रोक, ९ बजेपछि होटल बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
798
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लामा मदिरा बिक्री-वितरणमा लगाइएको रोकलाई कडाइका साथ कार्यान्वयन गर्न सुरु गरिएको छ। निर्वाचनलाई शान्त र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना अपनाएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत फागुन १४ गते नै सूचना जारी गरी फागुन २१ गते हुने निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध लगाएको थियो। यस निर्णयलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति आफैँ अनुगमनमा सक्रिय भएको छ। नयाँ व्यवस्थाअनुसार जिल्लाका होटल तथा पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न पाइने छैन।
अनुगमन कार्यको नेतृत्व प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गरेका थिए। टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनीका प्रहरी उपरीक्षक नवीन खड्का लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। टोलीले हेटौँडाका विभिन्न बजार र होटलहरूको वस्तुस्थिति निरीक्षण गरेको छ।
प्रशासनले चुनावी आचारसंहिता र आफ्ना निर्देशनहरू उल्लङ्घन गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। विशेष गरी तोकिएको समयभन्दा ढिला होटल सञ्चालन गर्ने वा लुकीछिपी मदिरा बिक्री गर्ने व्यवसायीहरूलाई कडा निगरानीमा राखिएको छ। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न प्रशासनले सम्पूर्ण व्यवसायी र सर्वसाधारणमा आग्रह गरेको छ।