पुँँजीगत बजेट चार खर्ब बढी छुट्याइएकोमा एक खर्ब पनि खर्च भएन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
752
Shares
काठमाडौँ। चालु आर्थिक वर्ष (आ.व.) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन ।
जेठ १५ मा सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजीगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ ।
यो खर्च उक्त शीर्षकमा १८.५९ प्रतिशत मात्रै हो । सरकारले चालु आवको आठ महिना बित्न लाग्दासमेत एक खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ ।
निर्माणको गति अघि नबढेका कारण अहिले पुँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।
उनका अनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरू प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको बताए।
अध्यक्ष सिंहले भने, ‘विकास बजेट खर्च नहुनुको कारण एउटा कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन। जेन-जी आन्दोलनपछि अस्थिरताका कारण पनि काम भएको छैन। अहिले अर्थ मन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ। विकास बजेट खर्च गर्ने रकम नभएको अभास हुन्छ। विनियोजित बजेटलाई कसरी संकुचनमा ल्याउने भन्नेमै अर्थका अधिकारीहरू लागेको देखिन्छ। बजेट अभाव भएकै कारण काम भएको छैन र काम नभएकै कारण नेपालीहरू विदेशिनु परिरहेको छ ।’
अध्यक्ष सिंहले अहिले नेपालमा मजदुर अभाव पनि चर्किँदै गएको बताएका छन्। अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरू प्रभावित भइरहेको उनको भनाइ छ ।
उनकाअनुसार निर्माण क्षेत्र मात्रै पनि चलायमान हुने हो भने अरु धेरै क्षेत्रहरूमा गतिविधिहरू बढ्न सक्ने भएकाले सरकारले यसलाई ध्यानमा राख्न जरुरी छ ।