arrow

झापामा मतदानको रौनक: पाँच क्षेत्रमा ९० उम्मेदवारको भाग्यको फैसला हुँदै

सात लाखभन्दा बढी मतदाता सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । झापा जिल्लामा आज बिहानैदेखि उत्साहका साथ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य सुरु भएको छ। मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंका अनुसार सबै क्षेत्रमा निर्धारित समयमै मतदान प्रक्रिया अगाडि बढेको छ। यस पटकको निर्वाचनमा झापाका पाँचवटा निर्वाचन क्षेत्रबाट कुल ९० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

जिल्लाभर यस निर्वाचनमा ७ लाख १३ हजार ५३७ जना मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ। मतदाताको विवरणअनुसार झापामा ३ लाख ५८ हजार ३४६ पुरुष, ३ लाख ५५ हजार ८३ महिला र ८ जना अन्य मतदाताहरू कायम छन्। विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा यस पटक ५० हजार २२६ जना नयाँ मतदाता थपिएका छन् भने मतदानलाई सहज बनाउन ४९ वटा नयाँ मतदान केन्द्रहरू समेत थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्न जिल्लाभर २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरू कायम गरिएको छ। मतदान कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन ८१५ जना मतदान अधिकृतसहित कुल ४ हजार ९३६ जना कर्मचारीहरू कार्यक्षेत्रमा खटिएका छन्। जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू बिहानैदेखि लामो लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ