निर्वाचन सुरक्षाको ‘मनिटरिङ’: गृहमन्त्री अर्याल र सुरक्षा प्रमुखहरू कन्ट्रोल रूममा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
579
Shares
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले विशेष ‘मनिटरिङ’ गरेको छ। टोलीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी छन्।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले दिएको जानकारीअनुसार मन्त्री अर्याल र सुरक्षा निकायका प्रमुखहरू गृह मन्त्रालयमा स्थापित ‘कन्ट्रोल रूम’ मा बसेर देशभरका सबै निर्वाचन क्षेत्रहरूको वस्तुस्थितिबारे जानकारी लिइरहेका छन्। टोलीले मतदानको सुरक्षा, मतदाताको उपस्थिति र सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गर्दै आवश्यक निर्देशन समेत दिइरहेको छ।
गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रहरूलाई पूर्ण रूपमा परिचालन गरिएको बताएका छन्। कन्ट्रोल रूममार्फत प्राप्त रिपोर्टिङका आधारमा सुरक्षा टोलीले तत्काल कदम चाल्ने व्यवस्था मिलाइएको छ। देशभर मतदान कार्य उत्साहजनक रूपमा अघि बढिरहेको र हालसम्म सुरक्षा अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।