arrow

प्रधानमन्त्री कार्कीको प्रतिक्रिया - मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
sushila-election.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कर्तव्य पूरा भएको बताएकी छन् । काठमाडौँको धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेपछि उनले यस्तो बताएकी हुन्। उनले भनिन, ‘मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु ।’

यो निर्वाचन पछिल्लो केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि हुँदैछ ।

गत सेप्टेम्बरमा भएको ऐतिहासिक ‘जेन-जी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएको थियो र प्रतिनिधिसभा विघटन गरिएको थियो ।

त्यसपछि गत भाद्र २७ मा कार्कीलाई अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको थियो ।

यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको बताउँदै सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका छ हजार ५४१ उम्मेद्वारको भाग्य तय गर्नेछन् ।

यसअघि २०७९ को निर्वाचनको तुलनामा यसपटक करिब नौ लाख १५ हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको हिस्सा ५२ प्रतिशत रहेको बताइएको छ ।

उम्मेद्वारमध्ये तीन हजार ४०६ जना प्रत्यक्ष (फस्र्ट पास्ट द पोस्ट) प्रणालीबाट प्रतिस्पर्धामा छन् भने बाँकी समानुपातिक प्रणालीतर्फ छन् ।

प्रत्यक्ष प्रणालीअन्तर्गत एक सय ६५ सिटका लागि ६५ दलका दुई हजार २६३ उम्मेद्वार तथा एकहजार एक सय ४३ स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।

लैङ्गिक प्रतिनिधित्व भने अझै असन्तुलित देखिएको छ । कुल उम्मेद्वारमध्ये तीन हजार १७ पुरुष र तीन  सय  ८८ महिला छन् भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जनामात्र उम्मेद्वार छन् ।

उम्मेद्वारको उमेर समूह पनि असमान देखिएको छ । ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ उम्मेद्वार छन् भने ३० वर्ष वा सोभन्दा कम उमेरका मात्र २०१ जना उम्मेद्वार छन् ।

समानुपातिकतर्फका एक सय १० सिटका लागि ६३ दलले तीन हजार एक सय ३५ उम्मेद्वारको सूची बुझाएका छन् । जसमा पुरुष र महिला बराबरी संख्यामा छन् ।

राष्ट्रिय दलको मान्यता पाउन कुनै दलले कम्तीमा तीन प्रतिशत समानुपातिक मत प्राप्त गर्नुका साथै प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था छ ।

निर्वाचन सुरक्षाका लागि देशभर १० हजार ९६३ मतदान केन्द्रमा तीन लाख ४१ हजार ११३ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा १ लाख ४९ हजार अस्थायी “निर्वाचन प्रहरी” समेत छन् ।

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा परिषद् बैठकले यसपटकको निर्वाचन विगतको तुलनामा अझ पारदर्शी हुने निष्कर्ष निकालेको छ ।

निर्वाचन आयुक्त भण्डारीले ‘कुनै शक्तिले पनि निर्वाचन अवरुद्ध गर्न सक्दैन’ भन्दै विशेषगरी युवा मतदाताको उच्च सहभागिताले मतदानदर बढ्ने विश्वास व्यक्त गरेका छन् ।

२०२२ को निर्वाचनमा मतदानदर ६१.४ प्रतिशतमा झरेको थियो भने २००६ पछि औसत मतदानदर ६९.४ प्रतिशत रहेको छ ।

दुर्गम पहाडी क्षेत्रबाट मतपेटिका छिटो संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकारीहरूले मतगणना शुरू भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने अपेक्षा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ