निर्वाचनले राजनीतिक संकट टर्यो, जनमतको सम्मान गरौँ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
805
Shares
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्। उनले यस निर्वाचनले मुलुकको जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान महत्वपूर्ण मद्दत गरेको बताएका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज र सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरे। उनका अनुसार मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अडिग विश्वासले देशको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छ।
उनले आगामी दिनमा जनताको यो अभिमत र निर्णयलाई सम्मान गर्दै देश र जनताको हितका लागि सबै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। निर्वाचन सम्पन्न भएसँगै अब मुलुकमा नयाँ राजनीतिक स्थिरता र समृद्धिको बाटो खुल्ने विश्वास समेत उनले व्यक्त गरे।