रुकुमपूर्वका दुर्गम केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी, भोलि बिहानदेखि गणना शुरु हुने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
696
Shares
काठमाडौँ । रुकुमपूर्वका अति दुर्गम क्षेत्रमा रहेका तीन वटा मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। सडक सञ्जालको पहुँच नभएका र हिँडेर आउन एक दिन लाग्ने ठाउँबाट मतपेटिकाहरू सदरमुकाम रुकुमकोट ल्याइएको हो।
हेलिकप्टरमार्फत सिस्ने गाउँपालिका–१ को पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको हिमाल आधारभूत विद्यालय मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रका मतपेटिकाहरू ल्याइएको छ। यी क्षेत्रहरू जिल्लाकै विकट मानिन्छन्।
अन्य मतदान केन्द्रका मतपेटिकाहरू पनि ल्याउने क्रम जारी छ। सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले दिएको जानकारीअनुसार मध्यरातिसम्म जिल्लाका सबै ठाउँका मतपेटिकाहरू सङ्कलन भइसक्नेछन्। उनले शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए। ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा कुल ३४ हजार ७७२ मतदाता रहेका थिए।
जिल्लाका सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले खसेको मतको अन्तिम विवरण भने आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ११ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।