काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले भारत र इङ्गल्याण्ड भिडिरहेका छन् ।
भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २५३ रन बनाएको छ ।
भारतका लागि सन्जु सामसनले ४२ बलमा ८९ रन बनाए । त्यस्तै शिवम दुवेले २५ बलमा ४३, इशान किशनले १८ बलमा ३९ रन बनाए । हार्दिक पाण्डेयाले १२ बलमा २७ तथा तिलक वर्माले ७ बलमा २१ रन बनाए ।
यो खेलको विजेताले उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । बुधबार राति भारतको कोलकातास्थित इडेन गार्डेनको मैदानमा भएको खेलमा न्यूजिल्याण्ड ९ विकेटले विजयी भएको हो ।
१७० रनको लक्ष्य न्यूजिल्याण्डले १२ ओभर ५ बलमै १ विकेटको क्षतिमा पूरा गर्यो ।
फिन एलनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमा अविजित रहँदै १०० रन जोडे । उनले सबैभन्दा कम बलमा शतक बनाएका हुन् ।
उनले टी–२० मा सन् २०१६ मा इङ्गल्याण्डविरुद्ध वेष्ट इन्डिजका क्रिस गेलले ४७ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।
टी–२० मा भने २७ बलमै शतक बनाउने एस्टोनियाका साहिल चौहान हुन् । उनले सन् २०२४ मा साइप्रसविरुद्ध उक्त कीर्तिमान बनाएका थिए ।
त्यस्तै टर्किएका मुहम्मद फहादले सन् २०२५ मा बुल्गेरियाविरुद्ध २९ बलमा शतक बनाएका थिए ।
३३ बलमै शतक बनाउने नामिबियाका जैन निकोल लफ्टी इटनले नेपालविरुद्ध सन् २०२४ मा र जिम्बाब्वेका सिकन्दर रजाले २०२४ मा बनाएका थिए ।
एलनले ८ छक्का र १० चौकाको मद्धतले विश्वकपमा ३३ बलमा अविजित रहँदै शतक बनाएका हुन् । विश्वकपको नकआउट भिडन्तमा अविजित सबैभन्दा बढी रन बनाउने कीर्तिमान पनि एलनकै नाममा छ ।
यसअघि सन् २००९ मा सेमिफाइनलमा श्रीलंकाका तिलकरत्ने दिलशानले सेमिफाइनलमा अविजित ९६ रन बनाएका थिए । त्यस्तै टिम सेफर्डले ३३ बलमा ५८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनायो । ७७ रन जोड्दा ५ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका लागि मार्को जासेनले ३० बलमा अविजित रहँदै ५६ तथा डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन बनाए ।