काठमाडौँ। डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले अग्रता लिएका छन्। ३४ वर्षसम्म शेरबहादुर देउवाको विरासत रहेको यस क्षेत्रमा यसपटक नयाँ अनुहारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले दिएको जानकारीअनुसार डा. ताराप्रसाद जोशीले १ हजार ५२ मत प्राप्त गरी अग्रता बनाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शेरसिंह मालले ५३० मत पाएका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार नयनसिंह महर ५०८ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन्। डडेल्धुरामा कुल ९० हजार ४०३ मतदाता रहेकामा ४५ हजार ९०९ मत खसेको थियो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।