काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल आफ्नो सुरक्षित गढ मानिने रुपन्देही क्षेत्र नम्बर २ मा निकै ठूलो मतान्तरले पछाडि परेका छन्। जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले पौडेललाई १० हजारभन्दा बढी मतको फराकिलो अन्तरले पछि पारेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार २० हजार ८०५ मतगणना हुँदा रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद पौडेलले ३ हजार १३३ मत मात्र पाएका छन्। पौडेल खरेल भन्दा १० हजार ७३६ मतले पछाडि परेका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेल १ हजार ७७९ मतका साथ तेस्रो स्थानमा छन्। २०६४ सालदेखि लगातार जित्दै आएका विष्णु पौडेल यसपटक सुरुवाती गणनादेखि नै निकै कमजोर देखिएका हुन्। ८६ हजार ५१० मत खसेको यस क्षेत्रमा सुलभ खरेलले लिएको यो अग्रताले एमाले वृत्तमा ठूलो धक्का पुर्याएको छ। अहिले बुटवलमा बाँकी वडाहरूको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ।