कञ्चनपुरमा 'घण्टी' को दबदबा: तीनवटै क्षेत्रमा रास्वपा अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
574
Shares
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कञ्चनपुरमा 'घण्टी' को दबदबा देखिएको हो।
कञ्चनपुर क्षेत्र नं १ मा ल ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी १ हजार ८३० मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा (एमाले) का तारा लामा तामाङले १ हजार ५१९ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा कुल ६१ हजार ७४ मत खसेको थियो।
कञ्चनपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार दीपकराज बोहरा ४ हजार २६८ मतका साथ अगाडि छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँद (एनपी साउँद) ले १ हजार ५२५ मत पाएका छन्। क्षेत्र नम्बर २ मा ६४ हजार ८८१ मत खसेको थियो।
कञ्चनपुर क्षेत्र नं ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता १ हजार २०४ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ४४८ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा ५८ हजार ३६१ मत खसेको थियो।
अहिले कञ्चनपुरका तीनवटै गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।