कांग्रेसका उदय शमशेरको अग्रता कायमै, कोञ्ज्योसोमको गणना शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
916
Shares
काठमाडौँ। ललितपुर क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कांग्रेसले आफ्नो सुरुवाती अग्रतालाई जोगाइराखेको छ। बागमती र महाँकाल गाउँपालिकाको गणना सकिँदा कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।
दिउँसो २:३० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ५ हजार ४ मत प्राप्त गरी अग्रता लिएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले ३ हजार २४३ मतका साथ पछ्याइरहेका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेल २ हजार ९२० मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
निर्वाचन अधिकृत एवं सर्वोच्च अदालतका उपरजिस्ट्रार इशा सुवेदीका अनुसार अहिले कोञ्ज्योसोम गाउँपालिकाको मतगणना भइरहेको छ। यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २८ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।