काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा रास्वपाका उम्मेदवारले पुराना दलका उम्मेदवारहरूलाई पछि पारेका हुन्।
प्रारम्भिक मत परिणामअनुसार १ हजार मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३६८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले २५८ मत पाएका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले १८७ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले ११४ मत प्राप्त गरेका छन्।
बैतडीमा कुल १ लाख ५० हजारभन्दा बढी मतदाता रहेकामा ७३ हजार १४८ जनाले मतदान गरेका थिए। एमालेका दामोदर भण्डारीले यसअघि लगातार तीन पटक चुनाव जितेको यस क्षेत्रमा यसपटक रास्वपा र कांग्रेसका नयाँ अनुहारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। अहिले दशरथचन्द नगरपालिकास्थित गणना स्थलमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।