सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेवारहरूले अग्रता कायम राखेका छन् ।
शुक्रबार दिउँसो ४ बजेसम्मको मतगणना परिणाम अनुसार रास्वपा जिल्लाका चारै ओटा क्षेत्रमा अग्रस्थानमा छ ।
सर्लाही क्षेत्र नं १ को ताजा मतपरिणाम अनुसार रास्वपाले ३४ सय १४ मतसहित स्पष्ट अग्रता बनाएको छ ।
दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ९३४ मतसहित रहेको छ भने नेपाली कांग्रेसले ४२१ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ३७७ मतसहित चौथो स्थानमा छ ।
सर्लाही क्षेत्र नं. २ मा ९९ सय २८ मत गणना भइसकेको छ । यहाँ रास्वपाका उम्मेद्वार रविन महतो ४४सय ६ मतसहित अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा नेकपाका महेन्द्र राय यादव १८सय ६२ मतसहित छन् । यसैगरी राजेन्द्र महतोले ५६८, कांग्रेसका सरोज कुमारले ४६२ र एमालेका नागेश्वर साहले २४४ मत प्राप्त गरेका छन् ।
सर्लाही क्षेत्र नं. ३ को ताजा मतगणनाअनुसार रास्वपाका नरेन्द्र साह कलवार २८ सय ४ मतसहित अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा नेकपाका नारायणकाजी श्रेष्ठ ४४०, नेपाली कांग्रेसका विनोद कुमार खनालले ३०८ मत प्राप्त गरेका छन् भने एमालेका हरिप्रसाद उप्रेतीले १९८ मत पाएका छन्।
सर्लाही क्षेत्र नं. ४ मा पनि रास्वपाका अमरेशकुमार सिंह २८ सय ४७ मतसहित अग्रता कायम राखेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका गगनुकमार थापाले १७ सय १४ मत पाएका छन् । यहाँ एमालेका अमनिश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले २६८ मत प्राप्त गरेका छन् ।
सर्लाहीका चारै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । ताजा परिणाम अनुसार रास्वपाले अधिकांश क्षेत्रमा उल्लेख्य अग्रता कायम राखेको देखिएको छ ।