रास्वपा तीन, कांग्रेस दुई तथा नेकपा एक सिटमा निर्वाचित , रास्वपाको अग्रता १०७ स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1.5k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेपाली कांग्रेसले २ तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाले एक स्थानमा जित हासिल गरेको छ ।
रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।
त्यसैगरी काठमाडौँ ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काठमाडौँ ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।
कांग्रेसले मनाङमा सफलता हासिल गरेको हो । कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित भएका हुन्।
हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । प्रचण्ड रूकुम पूर्वबाट विजयी भएका हुन् ।
कसलाई कति सिटमा अग्रता ?
१४७ स्थानको मतगणना भइरहँदा रास्वपाले १०७ स्थानमा अग्रता हासिल गरेको छ । नेपाली कांग्रेस ११, नेकपा एमाले ११ र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै श्रम संस्कृति ४, राप्रपा ३, उज्यालो नेपाल १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।