म्याग्दीमा महावीर पुनले जित्दै, ११ हजार बढी मतले अघि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
795
Shares
काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको भारी अग्रता कायमै छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मतभन्दा बढी मतान्तर बनाउँदै आफ्नो जित सुनिश्चित गरेका छन्।
बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अहिले पनि जारी छ।
जिल्लाका पाँचवटा पालिकाको मतगणना सकिँदा पुनले १८ हजार ८४७ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठलाई ११ हजार ९९५ मतान्तरले पछि पारेका हुन्।
अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ, जुन पुनले बनाएको मतान्तरभन्दा कम हो। यसले गर्दा पुनको जित अब औपचारिक घोषणा हुन मात्र बाँकी देखिएको छ।
जिल्लाका धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना कार्य सम्पन्न भइसकेको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए। कुल ८६ हजार ३९७ मतदाता रहेको म्याग्दीमा यसपटक ४६ हजार २१५ मत खसेको थियो। मन्त्री भइसकेका र वैज्ञानिकको पहिचान बनाएका पुनको यो सफलतालाई जिल्लामा निकै महत्त्वका साथ हेरिएको छ।