मोरङ ६ मा रास्वपाकी रुविना निर्वाचित, शेखर कोइरालाको लज्जास्पद हार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
784
Shares
काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य निर्वाचित भएकी छिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार आचार्यले भारी मतान्तरले जित हासिल गरेकी हुन्। मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेकी छिन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्र पाएका छन्। आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ। यस्तै, नेकपा (एमाले) का विनोदप्रसाद ढकालले ८ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविन निरौलाले २ हजार ९० मत प्राप्त गरेका छन्।
मोरङ क्षेत्र नम्बर ६ मा कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। कांग्रेसको गढ र डा. कोइराला जस्ता 'हेभीवेट' नेतालाई पराजित गर्दै ३१ वर्षीया युवा उम्मेदवार रुविनाले हात पारेको यो जितलाई मधेसको राजनीतिमा एउटा ऐतिहासिक मोडका रूपमा हेरिएको छ।