इलाम २ मा सुहाङ नेम्वाङको अग्रता कायमै, सुदीप राईले पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
932
Shares
काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मत गणना सकिँदा नेम्वाङले ८ हजार २८० मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ६ हजार ४४४ मतका साथ पछ्याइरहेका छन्।
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार नेम्वाङ र राईबीच अहिले १ हजार ८३६ को मतान्तर छ। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ४ हजार ३४६ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राई २ हजार २२४ मतसहित चौथो स्थानमा रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु भएको छ र त्यसपछि देउमाई तथा इलाम नगरपालिकाको गणना गरिनेछ।
इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा भइरहेको यस मतगणनामा सुरक्षा व्यवस्था कडा पारिएको छ। कुल १ लाख १९ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार ९३४ (५६ प्रतिशत) मत खसेको थियो। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली भएको यस क्षेत्रमा उनका छोरा सुहाङ र अन्य १३ जना प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ। बाँकी क्षेत्रहरूको गणना अघि बढेसँगै नतिजा अझै रोचक हुने देखिएको छ।