झापा ५ मा बालेनको फराकिलो अग्रता, ओली २५ हजार मतले पछाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
939
Shares
काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वालेन्द्र (बालेन) शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाएका छन्। एमालेको बलियो गढ मानिने यस क्षेत्रमा बालेनले सुरुवाती चरणदेखि नै एकतर्फी अग्रता लिएका हुन्।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार हालसम्म ५२ हजार २०७ मत गणना हुँदा रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत मात्र पाएका छन्। अहिले बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ पुगेको छ। यो मतान्तर गणना हुन बाँकी मतको अनुपातमा निकै निर्णायक देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार यस क्षेत्रमा कुल १ लाख ६ हजार ५६८ मत खसेको थियो, जुन कुल मतदाताको ६५.११ प्रतिशत हो। कुल खसेको मतमध्ये झण्डै आधा मत गणना हुँदा ओली २५ हजारभन्दा बढी मतले पछि परेका हुन्। काठमाडौँको मेयर पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा झरेका बालेनको यो अग्रताले राष्ट्रिय राजनीतिमा ठूलो हलचल ल्याएको छ। अहिले दमक र गौरादह क्षेत्रमा बालेनका समर्थकहरूले उत्साह मनाउन सुरु गरिसकेका छन्।