जाजरकोटमा पछि परे शक्ति बस्नेत, कांग्रेसका खड्कबहादुरको अग्रता कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
983
Shares
काठमाडौँ । जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक बन्दै गएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर विसीले १३ हजार ७१४ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्। उनलाई पछ्याइरहेका पूर्वमन्त्री एवं नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले ११ हजार ८७५ मत पाएका छन्। विसी र बस्नेतबीच अहिले १ हजार ८३९ को मतान्तर छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जाजरकोटका ६ वटा पालिकाको पूर्ण र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा विसीले अग्रता फराकिलो बनाउँदै लगेका छन्। तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार डम्बरबहादुर सिंहले १० हजार ८८५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार २२७ मत पाएको छ।
सुरुवातदेखि नै अग्रता लिइरहेका विसीको पक्षमा नतिजा आउने सम्भावना बढ्दै जाँदा बस्नेत भने यसपटक 'शक्तिहीन' देखिएका छन्। जाजरकोटको यो प्रतिस्पर्धालाई कर्णाली प्रदेशकै महत्त्वपूर्ण भिडन्तका रूपमा हेरिएको छ। अहिले छेडागाड नगरपालिकाको बाँकी मत गणना भइरहेको छ र आज साँझसम्म अन्तिम नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ।