लेखजङ्ग थापाको ५० हजार भन्दा बढी मतान्तरको रेकर्ड जित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1.3k
Shares
काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार थापाले अत्यन्तै फराकिलो मतान्तरले जित हासिल गरेका हुन्। उनले कुल ५८ हजार ८१४ मत प्राप्त गरी विजयी बनेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्र पाएका छन्। थापा र गुरुङबीचको मतान्तर ५० हजार ३७९ रहेको छ। यस्तै, नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले ७ हजार ७८९ मत पाएका छन्।
रुपन्देहीको यो क्षेत्रमा रास्वपाका डा. थापाले एमाले, कांग्रेस र राप्रपाका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि दोब्बर बढी मत ल्याएर नयाँ रेकर्ड कायम गरेका छन्। मधेस र पहाडको संगम मानिने यस क्षेत्रमा 'घण्टी' को यो सुनामीले पुराना राजनीतिक शक्तिहरूलाई स्तब्ध बनाएको छ। अहिले भैरहवा र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले विशाल विजय जुलुस निकालिरहेका छन्।