जगदिश्वरनरसिंहलाई हराउँदै रास्वपाका अचुतम नुवाकोट २ बाट निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
855
Shares
काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अचुतम लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता जगदिश्वरनरसिंह केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरेका छन्।
कांग्रेसका केसीले १५ हजार ५०३ मत पाएका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले ८ हजार २८५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाएका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले २ हजार ७५० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूले भने एक हजार मत पनि कटाउन सकेनन्। राप्रपाका झनक प्याकुरेलले ७७५, मंगोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६ र श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङले ३९६ मत पाएका छन्।
यस्तै, नेकपा (माओवादी) का नवराज ढुङ्गानाले ९०, नेकपा (संयुक्त) का किरण तिम्सेनाले ५२, नेमकिपाका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत मात्र पाएका छन्। नुवाकोट २ मा कुल १ लाख २३ हजार ९३९ मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको थियो। यो नतिजासँगै नुवाकोटको राजनीतिमा रास्वपाले आफ्नो बलियो उपस्थिति देखाएको छ र पुराना दलहरूका लागि यो ठूलो धक्का सावित भएको छ।