मधेसका हस्तीहरू पछारिए: सर्लाही २ मा महतो र यादवको विरासत ढल्यो, रास्वपाको उदय
रास्वपाका उम्मेदवार रविन महतो भारी मतान्तरले निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
956
Shares
काठमाडौँ। सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा दशकौँदेखि कायम रहँदै आएको मधेसका दिग्गज नेताहरूको राजनीतिक विरासत समाप्त भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतोले भारी मतान्तरले जित हासिल गर्दै नयाँ इतिहास रचेका छन्।
अन्तिम मतपरिणाम अनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरी विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं अनुभवी नेता महिन्द्रराय यादवलाई ३३ हजार ९८९ को फराकिलो मतान्तरले पराजित गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका महिन्द्रराय यादवले मात्र ८ हजार ५२३ मत पाएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं अर्का दिग्गज नेता राजेन्द्र महतो ५ हजार ९९२ मतमा सीमित भएका छन्।
यस्तै, नेपाली कांग्रेसका सरोजकुमारले ७ हजार ३९ मत प्राप्त गरेका छन्। मधेस आन्दोलनका प्रमुख अनुहारहरू मानिने महिन्द्रराय र राजेन्द्र महतो दुवैलाई एकैपटक पराजित गरेर रविन महतोले सर्लाहीमा 'घण्टी' को बलियो प्रभाव स्थापित गरेका छन्।
यो नतिजाले मधेसमा पुराना र स्थापित नेताहरूका विरुद्ध युवा र नयाँ राजनीतिक शक्तिको खोजी भइरहेको पुष्टि गरेको छ। अहिले सर्लाहीका चोक-चोकमा रविनका समर्थकहरूले ऐतिहासिक जितको उत्सव मनाइरहेका छन्।