दाङमा रास्वपाको इन्ट्री: ४४ हजार बढी मतसहित कमल निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
840
Shares
काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार सुवेदीले ४४ हजार २४८ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई २७ हजार ७९५ को विशाल मतान्तरले पराजित गरेका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का घनश्याम पाण्डेले १२ हजार १९५ मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन्। दाङ ३ मा कुल १ लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेको थियो।
कांग्रेस र एमालेका स्थापित नेताहरूलाई भारी मतान्तरले पछाडि पार्दै रास्वपाका सुवेदीले निकालेको यो जितलाई दाङको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। यो नतिजासँगै दाङमा पनि रास्वपाले आफ्नो बलियो प्रभाव प्रमाणित गरेको छ। अहिले तुलसीपुर र आसपासका क्षेत्रमा समर्थकहरूले 'घण्टी' बजाउँदै खुसियाली मनाइरहेका छन्।