रास्वपाको लहरमा परे गच्छदार, सुनसरी ३ मा अशोक चौधरीले जिते
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
870
Shares
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं नेपाली कांग्रेसका दिग्गज नेता विजयकुमार गच्छदारलाई २६ हजार ९२० को विशाल मतान्तरले पराजित गरेका छन्।
कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत मात्र प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरी १५ हजार ८३ मतसहित तेस्रो स्थानमा सीमित भएकी छन्। श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले १ हजार ७८० र नेपाली कम्युनिस्ट पार्टीका दुर्गेशकुमार चौधरीले १ हजार ५५१ मत पाएका छन्।
सुनसरी ३ मा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेकामा ९५ हजार १८५ मत खसेको थियो। यहाँ विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। इटहरी, इनरुवा, दुहबी र गढी–बर्जु गाउँपालिका समेटिएको यस क्षेत्रमा पुराना हस्तीहरूलाई बढार्दै रास्वपाका अशोक चौधरीले निकालेको यो नतिजालाई कोशी प्रदेशकै ठूलो राजनीतिक 'अपसेट' मानिएको छ।