काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार ढकालले ४३ हजार ६३१ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूलाई ३१ हजार ७१५ को विशाल मतान्तरले पराजित गरेका छन्।
एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत मात्र प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका देउकुमार थेवेले ९ हजार ४३४ मत, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत पाएका छन्।
झापा ४ मा कुल १ लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो। यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। पुराना दलका स्थापित नेताहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै शम्भुप्रसाद ढकालले निकालेको यो नतिजालाई झापाको राजनीतिमा ठूलो 'परिवर्तन' का रूपमा हेरिएको छ।