झापामा ओली र लिङ्देनको विरासत ढल्यो, रास्वपाको 'क्लिन स्वीप'
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
856
Shares
काठमाडौँ । झापा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित सानदार जित हासिल गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित दलका शीर्ष नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाले झापामा आफ्नो वर्चस्व कायम गरेको हो।
यस निर्वाचनकै सबैभन्दा चर्चित प्रतिस्पर्धामा रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजारभन्दा बढीको विशाल मतान्तरले पराजित गरेका छन्। बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले मात्र १८ हजार ७३४ मत प्राप्त गरे।
झापा ३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी भएका छन्। उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (१७ हजार २९४) लाई पराजित गरे। त्यस्तै, झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतका साथ निर्वाचित हुँदा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे।
झापा १ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी भइन्। उनले कांग्रेसका केशवराज पाण्डेलाई पराजित गरिन्। क्षेत्र नम्बर ४ मा शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत ल्याएर विजयी हुँदा एमालेका लालप्रसाद साँवा ११ हजार ९१६ मतमा खुम्चिए।
झापाका यी नतिजाहरूले पुराना राजनीतिक दलहरूको आधार इलाका मानिने क्षेत्रहरूमा 'घण्टी' को लहरले पूर्ण रूपमा नयाँ समीकरण तयार पारिदिएको छ।