दार्चुलाबाट गणेशसिंह ठगुन्ना तेस्रो पटक प्रतिनिधिसभामा निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
836
Shares
काठमाडौँ । दार्चुलाको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ठगुन्नाले १८ हजार ८९९ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ६३ मतान्तरले पराजित गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण जोशीले ३ हजार ६५ मत पाएका छन्।
जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो। ११ जना उम्मेदवार चुनावी मैदानमा रहेको दार्चुलामा ठगुन्नाले यसअघि २०७० र २०७४ को निर्वाचनमा पनि जित हासिल गरिसकेका छन्। निर्वाचित भएपछि सांसद ठगुन्नाले मतदाताहरूलाई धन्यवाद दिँदै दार्चुलाको विकास र सीमा क्षेत्रका समस्या समाधानका लागि आफू निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।