काठमाडौँ । सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३३३ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५४९ को विशाल मतान्तरले पराजित गरेका छन्।
पराजित भएका कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामशङ्कर यादव ७ हजार ८६६ मतसहित तेस्रो स्थानमा रहेका छन्। अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत र जनता समाजवादी पार्टी (जसपा), नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।
नवनिर्वाचित सांसद बब्लु गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री हुन्। सिरहाको यो क्षेत्रमा स्थापित पुराना दलका उम्मेदवारहरूलाई निकै पछाडि पार्दै गुप्ताले प्राप्त गरेको यो मतले मधेसमा 'घण्टी' को बलियो प्रभाव र मन्त्रीका रूपमा उनले गरेको कामप्रतिको जनसमर्थनलाई दर्शाउँछ।