काठमाडौँ। मुगुको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही निर्वाचित भए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ५ हजार ६१७ मत प्राप्त गरी जित हासिल गरे।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरले पराजित गरे। पराजित रोकायले ५ हजार १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चन्द्रबहादुर शाहीले २ हजार ४४० मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भुवन टमटाले ३७१ मत प्राप्त गरे। मुगुमा सातवटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
कुल ३६ हजार ६०५ मतदाता रहेको मुगुमा यसपटक २२ हजार १६८ मत खसेको निर्वाचन कार्यालयले जनायो। दुर्गम हिमाली जिल्ला मुगुमा कांग्रेसले आफ्नो साख जोगाउँदै एमाले र अन्य नयाँ शक्तिहरूलाई पछाडि पार्न सफल भयो।