arrow

जुम्लामा रास्वपाकी विनिता कठायतसहित छ उम्मेद्वारको जमानत जफत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
binita-kathyat-jumla.jpg

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेद्वारमध्ये ६ जनाको जमानत जफत भएको छ।

निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्।

जिल्लामा विभिन्न नौ राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेद्वार चुनावी मैदानमा थिए ।

तर उनीहरूमध्ये आधाभन्दा बढी उम्मेद्वारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको प्रभाव खासै देखिएन।

रास्वपाबाट उम्मेद्वार बनेकी विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरिन्। आवश्यक मत ल्याउन नसक्दा उनको पनि जमानत जफत भएको छ ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाहीले ७१ मत पाए।

नेपाल जनता पार्टीका रनील विक्रम शाहीले ४३ मतमात्र प्राप्त गरे । यी सबै उम्मेद्वारहरूले कानूनी रूपमा आवश्यक मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

यसैगरी स्वतन्त्र उम्मेद्वार भक्तबहादुर रावलले पनि न्यून मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ।

निर्वाचनसम्बन्धी कानूनी व्यवस्थाअनुसार कुनै पनि उम्मेद्वारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम जफत हुने प्रावधान छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार उक्त प्रावधानका कारण छ उम्मेद्वारले जमानत गुमाएका हुन्।

प्रतिनिधिसभा सदस्यतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजयी भएका छन् ।

उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीलाई तीन हजार २४१ मतान्तरले पराजित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जित हात पारेका छन् भने भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

निर्वाचनमा जिल्लाभर करिब ५७ प्रतिशत मत खसेको छ । प्रत्यक्षतर्फ ४० हजार ८९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो।

जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

चुनावी प्रतिस्पर्धा रोचक बने पनि अन्ततः मत परिणामले जुम्लामा राप्रपाको पकड बलियो रहेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ