arrow

मात्र दुई क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६३ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५, नेपाली कांग्रेस १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । 

यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 

दुई निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । जसमा एउटा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक गर्न रोक लगाइएको छ भने एकमा एमाले अगाडि छ ।

सङ्खुवासभामा चार स्थानबाट मतगणना
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ  । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ । 

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।

मत गणनाका क्रममा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले १३ हजार ९५८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १२ हजार ४१४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले ११ हजार १०२, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले आठ हजार ७६९ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरिता थापाले दुई हजार ६०८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

धनुषा १ 

धनुषा १ मा निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उम्मेदवारी खारेज भएका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजको रिटमा पेसी तोकिएको छ ।

यता सर्वोच्च अदालतले निर्वाचन विवादमा छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको छ । कमलले सर्वोच्चमा रिट दिएकामा सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा निवेदकका कानून व्यवसायीले गरेको बहसपछि आउँदो शुक्रबार अन्तरिम आदेशमा छलफलका लागि आयोगलाई डाकिएको हो । 

उनको उम्मेदवारी खारेज भए पनि अन्तिम समयमा गरिएको उम्मेदवारी खारेजीका कारण उनले सबैभन्दा धेरै मत ल्याएका छन् । कमलले उम्मेद्वारी खारेज रहेको अवस्थामा २० हजार भन्दा बढी मत प्राप्त गरेका छन् ।

साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो । 

मतपत्र छपाइ भइसकेकाले उनको उम्मेद्वारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।

उम्मेद्वारी खारेज भए पनि धेरै मत परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । योसंगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।

रास्वपा पछि उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भए अनुसार सात हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह सात हजार ४२८ प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ