सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ ।
जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ६१० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं. २ मा भएको छ ।
उक्त क्षेत्रमा पाँच हजार ४०८ मत बदर भएको छ । त्यसपछि क्षेत्र नं १ मा पाँच हजार ३६५ मत बदर भएको छ ।
क्षेत्र नं ४ मा चार हजार ५६९ मत बदर भएको छ भने सबैभन्दा कम क्षेत्र नं ३ मा ४ हजार दुई सय ४८ मत बदर भएको छ ।
मत बदरको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।
उम्मेद्वार र उनीहरूका प्रतिनिधिले पनि घरघरमै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाएका थिए ।
तर यति प्रयास हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा मत बदर भएको देखिएको छ ।
मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको बताइएको छ।