arrow

सकियो समानुपातिकको सबै मतगणना, कसलाई कति खस्यो मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । अन्तिम मतगणना भएको इलाम क्षेत्र नम्बर १ को समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । 

उनले अन्तिम गणना भएको इलाम १ को गणना सकिएको र सबै मतगणना पूरा भएको जनाकारी दिए । जसअनुसार १ करोड ७ लाख ६९ हजार ५४३ सदर मत गणना गरिएको छ । 

फागुन २१ को निर्वाचनबाट चार वर्षअघि गठित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च मतसहित शीर्ष स्थानमा रहेको छ । 

यसअघिको निर्वाचनको पहिलो दल नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ । 

जेन-जी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टी छोटो अवधिमै पाँचौँ स्थानमा रहेर राष्ट्रिय दल बन्न सफल भएको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने छैटौँ स्थानमा झरेको छ । 

जनता समाजवादी पार्टी जसपा भने सुरक्षित भएन । त्यस्तै पहिलो पटक सहभागी राष्ट्रिय परिवर्तन पार्टी पनि सुरक्षित हुन सकेन । 

१ करोड ७ लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले ५१ लाख ४८ हजार २१७ मत प्राप्त गरेको छ । 

कांग्रेसले १७ लाख ५४ हजार ३९५ मत पाएको छ । त्यस्तै एमालेले १४ लाख ५१ हजार ९५६ मत पाएको छ । नेकपाले ८ लाख ९ हजार ०७१ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ६८२ मत प्राप्त गरेको छ । राप्रपाले ३ लाख ३० हजार ०८२ मत पाएको छ । 

जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ८३५ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ९०० मत पाएको छ । 

जनमत पार्टीले ७९ हजार ०२५ मत पाएको छ । 

मतगणना सकिएसँगै आयोगले दलहरूलाई समानुपातिक सिट संख्या तोकेर दिने पनि अधिकारी घिमिरेले बताए । उनले आयोगले दलहरूलाई आफ्नो क्लस्टरअनुसार पाएको उम्मेदवारको नाम पठाउन आग्रह गर्छ । सही भए त्यसलाई दर्ता गर्छ र नियमानुसार नभए फेरि सच्याउन ताकेता गर्छ । 

आयोगले यो प्रक्रिया चैत ३ या ४ गते पूरा गर्ने अधिकारी घिमिरेले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ